Thursday, October 3, 2019

दमक,१६ असोज । झापाको दमकमा आज सम्पन्न एकदिवसीय दोस्रो मिडियाकप फुटसल प्रतियोगिता २०७६ को उपाधि दमकको हरप्रहर मिडियाले हात पारेको छ ।
पाथीभरा एफएमलाई १ को विरुद्ध ६ गोल गर्दै हरप्रहरले यसवर्षको मिडियाकपको उपाधि जितेको हो । उपाधिसंगै विजेताले नगद रु १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता वनेको पाथीभरा एफएमले नगद रु १० हजार,ट्रफी र प्रमाण पत्रमा चित्त बुझाउनु प¥यो
प्रतियोगितामा कोचिला न्यूज अनलाइनका विशाल थापा ९ गोल गरी हाइस्कोरर उपाधिबाट पुरस्कृत हुनु भएको छ । यस्तै सप्तरङ्गी एफएमका डिकेश लामा उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएको खेल समितिका संयोजक विष्णु पौडेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाले पहिलो पुरस्कारको सौजन्य गरेका थिए भने हाइस्कोरको पुरस्कारको प्रायोजन रोटरी दमकका अध्यक्ष सन्दिप चापागाई र उत्कृष्ठ खेलाडीको पुरस्कारको प्रायोजन युवा उद्यमी नवराज न्यौपानेले गरेका थिए ।कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभा सांसद महेन्द्रकुमारी लिम्बुले बिजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरिन् । प्रतियोगितामा जिल्लाको माईपश्चिम क्षेत्रका विभिन्न ८ वटा सञ्चार गृहले भाग लिएका थिए ।
यसअघि आज बिहान भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद लिम्बु, दमक जेसीजका अध्यक्ष भिमराज चौलागाईं, रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दिप चापागाईं, प्रेससंगठनका टिकाराम उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटनमा कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायत विभिन्न सञ्चार गृहका सञ्चालक,पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिले वडादशैको अवसर पारेर गतवर्षदेखि जिल्लाको माइपश्चिम क्षेत्रका सञ्चारगृहका सञ्चारकर्मीहरुवीच प्रतियोगितात्मक फुटसलको आयोजना गरिआएको युनियनका अध्यक्ष विष्णु सुब्बाले जानकारी दिए ।

0 comments:

Post a Comment